सुर्खेत । अपांगता भएका व्यक्तिहरुकालागि लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुर्खेत अपांग समाजको आयोजना, वीरेन्द्रनगर नगरपालिका सुर्खेतको समन्वय र संघिय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका १६ वटै वडामा सञ्चालन गर्नेगरि तालिमको उद्घाटन गरिएको हो ।
आज शनिबार वीरेन्द्रनगर १०,११ र १२ का सहभागीहरुकाबिच तालिमको उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीको प्रमुख आथित्यता तथा सुर्खेत अपांग समाजका अध्यक्ष मयाराम जैशीको सभाअध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो ।
तालिम कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गैर सरकारी संस्था महासंघ केन्द्रिय सदस्य घनश्याम केसीले अपांगता समस्या नभई एउटा अवस्था भएकोले यसमा दयाको पात्र भन्दा पनि अधिकारका विषयमा कुरा गरिनुपर्ने र राज्यले पनि त्यसैगरी बुझ्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले विकास भनेको बाटोमात्रै नभई सामाजिक विकास र चेतनाको विकास नै ठुलो विकास भएको बताए । उनले अपांगता भएका व्यक्तिहरुका लागि यसरी लैगिंक समानता तथा सामाजिक समावेशीकरण र अन्य विषयमा तालिमको आयोजना गरेकोमा सुर्खेत अपांग समाजलाई धन्यबाद समेत दिए ।
अपांगता क्षेत्रमा निर्माण गर्नुपर्ने नीति तथा कार्यक्रमका विषयमा समेत वीरेन्द्रनगर नगरपालिका सकारात्मक भएको उनले जानकारी गराए ।
तालिम कार्यक्रमको उद्घाटन कार्यक्रमलाई समापन गर्दै सुर्खेत अपांग समाजका अध्यक्ष मयाराम जैशीले राज्यले पुर्वाधार क्षेत्रमा मात्रै लगानी नगरी सामाजिक विकासमा समेत लगानी गर्न सके राम्रो हुने बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई आफ्नो अधिकारका विषयमा समेत जान्ने अधिकार भएकोले यसमा सहयोग र समन्वय गरेकोमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतलाई धन्यबाद समेत दिए ।
तालिममा प्रशिक्षकका रुपमा टिका विष्ट र सीता वली रहेका थिए । तालिम वीरेन्द्रनगरका १६ वटै वडालाई समेटेर ८ दिन सम्म सञ्चालन हुनेछ ।
फरकबाटो ११ चैत्र २०७९, शनिबार १९:१७