काठमाडौंका २० सिट : १५ मा कांग्रेसको दाबी

काठमाडौं । काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँट पेचिलो बनेको छ । कांग्रेसले २० मध्ये कम्तिमा १५ सिटमा दाबी राखेको छ ।

सभापति शेरबहादुर देउवाले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई मंगलबार बिहान बालुवाटार बोलाएका थिए । बागमती प्रदेशमा एकल सरकार गठन हुने हिसाब–किताबका साथ कांग्रेसले सिट बाँडफाँटको नीति लिएको छ । कार्यदलका एक सदस्यका अनुसार काठमाडौंका २० वटा निर्वाचन क्षेत्रमा जसपा र राष्ट्रिय जनमोर्चाले कुनै सिट पाउने छैन । एकीकृत समाजवादी र माओवादीलाई बढीमा ५ सिट दिने कांग्रेसको तयारी छ । तर ०७४ मा २० वटै प्रदेशसभामा उम्मेदवार दिएको कांग्रेसले ४ वटा मात्र जितेको थियो ।

कांग्रेसले काठमाडौं – १ (क) मा दीपेन्द्र श्रेष्ठ, ३  (क) मा छिरिङ दोर्जे लामा, ४ (क) मा नरोत्तम वैद्य र १० (क) मा पुकार महर्जनले जितका थिए । बाँकी १६ सिट माओवादी केन्द्रको सहयोगमा तत्कालीन नेकपा एमालेले जितेको थियो । प्रदेशसभा सदस्यमा ३ सिट लिएको माओवादीले निल भएको थियो भने १७ सिटमा उम्मेदवारी दिएको एमालेले एउटा सिट मात्र गुमाएको थियो ।

एमालेबाट काठमाडौं १ (ख) मा गणेश दुलाल, २ (क) मा सानुकुमार श्रेष्ठ र (ख) मा मणिराम फुयाल,  ३ (ख) मा रामेश्वर फुयाल, ४ (ख) मा कुसुमकुमार कार्की, ५ (क) मा  नारायणबहादुर सिलवाल र दीपक निरौला, ६ (क) मा केशव स्थापित, ख मा योगेन्द्रराज संगौला, ७ (क) मा वसन्त मानन्धर, ८ क मा राजेश शाक्य र (ख) मा अष्टलक्ष्मी शाक्य र  ९ (क) मा अजयक्रान्ति शाक्य र (ख) मा केशवप्रसाद पोखरेल,  १० (ख) मा रमा आलेमगर निर्वाचित भएका थिए ।

जसमा काठमाडौं कुसुम कार्की, बसन्त मानन्धर र रमा आलेमगर एकीकृत अहिले एकीकृत समाजवादीमा छन् । एमालेको १३ सिटमा गठबन्धनभित्र भागबण्डाको रस्साकस्सी चलिरहेको छ । यता कांग्रेसमा प्रदेश २० वटा प्रदेश निर्वाचन क्षेत्रमा १६४ जनाले उम्मेदवार हुने आकांक्षा देखाएका छन् । कांग्रेस बागमती प्रदेशले प्रत्यक्षतर्फ उम्मेदवारका सिफारिस भएका १६४ जनाको नाम केन्द्रमा पठाएको छ ।