मूल्यवृद्धि विरुद्ध एमालेका संगठनहरुले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यवस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको संयन्त्रको बैठकले आन्दोलनलाई सडकदेखि सदनसम्म उठाउने निर्णय गरेको संयन्त्रका संयोजक तथा पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले बताए ।


पेट्रोलियम, खाद्यपदार्थ लगायतमा मूल्यवृद्धि, पाठ्यपुस्तकको अभाव, धान रोपाइँको समयमा मलखादको अभाव जस्ता विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ, नेपाल लगायत आन्दोलनमा छन् । जारी आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै पार्टीका सबै २२ वटै संगठनहरू सडक आन्दोलनमा उत्रने भएका हुन् ।