राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


सुर्खेत । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ हजार पाँच सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार तीन सय १५ आवश्यक पर्छ ।

पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन् । पूर्वसभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८१ मतदाता कायम रहेकोमा ५० जना मतदानमा उपस्थित भएनन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।