कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

सुर्खेत । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज सोमवार म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा रहेको छ । इलाइट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् ।

काठमाण्डौबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एअरको हेलिकप्टरमार्फत अन्नपूर्ण–३ दानामा आएकी हुन् । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन् ।

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छन् । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् ।