निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिविधिप्रति सचेत रहन पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीको आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिविधिप्रति सचेत रहन पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार एक बिज्ञप्ति जारी गर्दै रेग्मीले आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने आर्थिक चलखेल, गुण्डागर्दी र अराजक गतिविधिजस्ता क्रियाकलापले पार्टी संगठन र कार्यकर्तालाई संगठित नबनाएर द्वेष र बदलाको भाव उत्पन्न हुने भएकोले यस्ता गतिविधिविरुद्ध पार्टीका शीर्ष नेतृत्वले गम्भीर मनन् गर्न ध्यानाकर्षण गराएका हुन् ।

लोकतन्त्रको आधारको रुपमा रहेको पार्टीको आन्तरिक निर्वाचन पार्टी सुदृढिकरणको महत्वपूर्ण चरण भएको उनले बताए ।
बिज्ञप्तिमा पार्टीभित्र आन्तरिक लोकतन्त्र, आपसी एकता, सद्भाव र सम्बन्धको दायरालाई मजबुद बनाउन सहयोग पुग्ने भएपनि लोकतान्त्रिक आचरण विपरितका गतिविधिहरुले एकता नभएर बदलाको भाव आउन सक्ने हुँदा त्यसतर्फ सजग रहन अपिल उनले गरे ।

पार्टीको आन्तरिक निर्वाचनमा उल्लेखित सवैखाले गतिविधिहरुका बाबजुद निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने नेता कार्यकर्ता, उद्योगी व्यापारी, शुभचिन्तकका साथै निर्वाचनमा खटिने निर्वाचन अधिकृत, मतदान अधिकृत सवैलाई निवर्तमान सभापति रेग्मीले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।