यू–१९ विश्व कप छनोट  :  नेपालले यूएईलाई दियो १ सय ९२ रनको लक्ष्य


सुर्खेत । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २र२ विकेट लिए । नेपाल केहीबेरमा बलिङ गर्नेछ ।

नेपालले सुरुवाती सबै चार खेल जितेको छ । यूएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्व कप पुग्न निर्णायक हुनेछ ।

नेपालले सिङ्गापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । यस्तै यूएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिङ्गापुर र कुवेतलाई ८र८ विकेटले हराएको थियो ।

सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल यूएईसँग एक रनले डकवर्थ लुइस पद्धतिको आधारमा पराजित हुँदै दुई वटा विश्व कप खेल्न पाएको थिएन ।

नेपाल र यूएईबीचको विजेता टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्नेछ ।