प्रधानमन्त्री कप महिला क्रिकेट  :  कर्णाली र प्रदेश १ तथा सुदूरपश्चिम र एपीएफ खेल्ने


सुर्खेत । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा सुनसरीको इटहरीमा भइरहेको प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बिहान नौ बजे कर्णाली प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् ।

समूह बी का दुई खेलमा दुवै खेल जितेको प्रदेश १ शीर्ष स्थानमा रहेको छ भने दुई खेलमा दुवै खेल हारेको कर्णाली समूह बी को अन्तिममा रहेको छ ।

यस्तै, दोस्रो खेलमा दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । दुई खेलमा दुवै खेल जितेको सुदूरपश्चिम समूह ए को दोस्रो स्थानमा रहेको छ ।

दुई खेलमा दुवै खेल जितेको एपीएफ क्लब नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी आठ टोलीले खेल्दैछन् । विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।