
सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि ३० दिनमै सरकार ढलेको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन् ।
आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिनमै ढलेको हो । यसअघि गत पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पहिले समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएको भन्दै अहिले साथ नदिएपछि एमालेको तर्फबाट मुख्यमन्त्री बनेको रावल पदमुक्त भएका हुन् । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको माग राख्दै आएको छ । माग पूरा नहुँदासम्म सरकारलाई विश्वासको मत नदिने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले अडान नछाड्दा सरकार ढलेको हो ।
संविधान बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् । सरकार गठनका लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ ।

फरकबाटो २६ माघ २०७९, बिहीबार १९:११