
सुर्खेत । मानव अधिकार तथा ग्रामिण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपालको अध्यक्षमा गणेशबहादुर वली निर्वाचित भएका छन् । संस्थाको १३ औं वार्षिक साधारण सभाबाट वली पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित संस्थाको १३ औं वार्षिक साधारण सभाबाट ७ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित गरिएको छ । जसमा संस्थाको उपाध्यक्षमा टोपबहादुर वि.क, सचिवमा सीता वली, कोषाध्यक्षमा गीता सुनार, सदस्यहरुमा चरित्रकुमार वि.सी, टिकाराम आचार्य र झुमकली आचार्य निर्वाचित भएका हुन् ।
साधारण सभाकाको उद्घाटन कार्यक्रम वीरेन्द्रनगर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि देवकोटाले मानव अधिकार हनन्का घटनाहरु बढ्दो क्रममा रहेकाले मानव अधिकार रक्षाका विषयमा सचेत गराउन संस्थाले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए ।
वीरेन्द्रनगर उपत्यका भित्र लागुऔषध ओसार पसारमा वीरेन्द्रनगरको ९,१० र ११ वडाहरु नाकाकोरुपमा प्रयोग हुने भएकाले लागुऔषध ओसार पसार नियन्त्रणमा सामाजिक संघ संस्थाहरु सक्रियरुपमा लाग्नु पर्ने उनले सुझाव दिए
विपद्का हिसाबले अति जोखिममा रहेका वडा नं. १० र ११ मा संस्थाले गरेका उद्धर र सचेतना कार्यक्रम प्रशुंनिय रहेको बताउँँदै उक्त कार्यलाई आगामी दिनहरुमा समेत निरन्तरता दिन समेत उनले आग्रह गरे । अध्यक्ष देवकोटाले वडा कार्यालयका तर्फबाट गर्नु पर्ने सबैखाले सहयोग संस्थालाई गर्ने र सहकार्य गरेर वडालाई नमुना र सुरक्षित वडा बनाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाका सचिव सीता वलीले संस्थाको वार्षीक प्रगती प्रतिवेदन पेश गरेकी थिइन् । साथै संस्थाका कोषाध्यक्ष टोप बहादुर बि.कले संस्थाको आर्थिक प्रतिवेदन तथा आ.व २०७९र०८०(को प्रस्ताविक आय व्यय प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर वलीले २०६६ सालमा आधिकारीक रुपमा दर्ता भएर आफ्नो अभियान थालेको संस्थाले सुखेर््त र दैलेखका विभिन्न ठाउँमा मानव बेचविखन, विपद् व्यवस्थापन, मानवअधिकार लगाएतका विषयमा सचेतनामुलक कार्यक्रम, सरसफाई तथा रेडियो कार्यक्रमहरु समेत गर्दै आएको बताए ।
उनले संस्था हाल बालविवाह विरुद्धको साझा अभियान क्याग्मा सुर्खेतको संयोजक, मानवअधिकार रक्षक सञ्जालको सदस्य लगाएत थुप्रै उदेश्य मिल्ने संञ्जालहरुमा आवद्ध रहेको जानकारी दिए । संस्थामा धेरै परियोजना नभएपनि संस्थाले निरन्तर आफ्ना उदेश्य अनुरुपका कार्यक्रमहरु तथा अभियानहरु सञ्चालन गर्दै आएको उनले बताए ।
कार्यक्रममा समाजसेवी सुरेशकुमार वली, जगतबहादुर वि.सी, आयोन नेपालका कार्यक्रम संयोजक रेखा वली लगाएतको सहभागीता रहेको थियो ।

फरकबाटो ५ कार्तिक २०७९, शनिबार २०:५६