
सुर्खेत । गुल्मीमा एक जना भारतीय नागरिकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमान् श्रीमतीलाई पक्राउ गरि आज आज सार्वजनिक गरेको छ ।
सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको प्रहरीको भनाई छ ।
बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा रक्सी खाएर भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।
दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो ।
शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

फरकबाटो २१ माघ २०७९, शनिबार १९:००