कर्णालीमा सातवर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला , हाल ८४ जना कुष्ठरोगका बिरामी उपचारमै


सुर्खेत । कर्णाली प्रदेशमा सातवर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका छन् भने  हाल ८४ जना कुष्ठरोगका बिरामी उपचारमै रहेका छन् । प्रदेशका दश जिल्लामा गरि ८४ जनाले उपचार गराउँदै आएका हुन् ।

जसमा सुर्खेत जिल्लामा १५ जना, दैलेखमा १२ जना, सल्यानमा ११ जना, रुकुमपश्चिममा ११ जना जाजरकोटमा ११ जना, जुम्लामा १० जना, कालिकोटमा ८ जना हुम्लामा २, डोल्पामा २ र मुगु जिल्लामा २ जना बिरामी रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ अधिकृत पदमबहादुर केसीले जानकारी दिए ।

उनीहरुको जिल्लाका स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य चौकी लगाएतमा उपचार भइरहेको हो । आर्थिक वर्ष २०७२/०७३ देखी आर्थिक वर्ष २०७८/०७९ सम्म सातवर्षको अवधिमा कर्णालीमा नयाँ ६ सय ४४ जना कुष्ठरोगका बिरामी फेला परेको समेत निर्देशनालयले जानकारी दिएको छ ।

हाल कर्णालीमा कुष्ठरोग निवारणकै अवस्थामा रहेको समेत निर्देशनालयको भनाई छ । निर्देशनालयका क्षयकुष्ठ अधिकृत केसीका अनुसार कर्णालीमा कुष्ठरोगका विरामी हुँदै नभएको भन्दा पनि छुटफुट बिरामी भएको र प्रति दशहजार जनसंख्यामा १ जना भन्दा कम बिरामी भएको  अवस्थालाई निवारणको अवस्था मानिन्छ ।

सन् २०३० सम्ममा राज्यले कुष्ठरोग शुन्यको अवस्थामा लैजाने लक्ष्य लिएकोमा कर्णाली प्रदेशमा त्यसरी नै काम भइरहेको उनले सुनाए ।