
सुर्खेत । मङ्गलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व।आचार्यको २५ बुँदे माग पूरा गर्न सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।
काठमाण्डौको माइतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै विरोध भएको छ । मङ्गलवार आफूमाथि पेट्रोल छर्किएर आगो लगाइ आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधवार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
विभिन्न व्यवसाय गर्न खोज्दा व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए ।
प्रदर्शनमा उत्रिएकाहरुले मतदाताहरुले नयाँ शक्तिको रुपमा सत्तामा पुर्याएकाहरुले यो अवस्थाको सिर्जना गर्नेहरुलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताउँदै आएका छन् ।
उनीहरुले बैंकहरुले उद्योगीहरुलाई दिने ऋणमा सहुलियत दिनुको ठाउँमा उल्टै कमिसन खाने जस्ता कुराहरुले उद्योगी, व्यवसायीहरु झनै पीडामा परेको बताएका हुन् ।
आन्दोलनमा सहभागी एक युवतीले गृहमन्त्री रवि लामिछानेले माफी मागेर मात्रै घटना नसकिने भन्दै यो अवस्थामा लैजान प्रेरित गर्ने सबैलाई कारबाही गर्नसकेमात्र मृतकप्रति न्याय हुने बताईन् ।
आत्मदाह गरेका आचार्यलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरूले सरकारविरुद्ध विभिन्न नाराबाजीसहित विरोध गरेका छन् ।
‘यो देश हो कि बधशाला ?, अर्को जल्दो शरीर मेरो नहोस्, उद्यमशील नेपाल, नेपाल नारा मात्रै हो ? प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार , यो आत्महत्या होइन हत्या हो , ठूला व्यापारी कसको आश्रयमा स्व.आचार्यका २५ बुँदे माग पूरा गर्’ लगायतका पर्चा बोकेर युवाहरूले विरोध जनाएका छन् ।

फरकबाटो ११ माघ २०७९, बुधबार १६:२२