थाइल्यान्डमा नेपाली बक्सर सुस्मा र हेमा विजयी


सुर्खेत । नेपाली बक्सर सुष्मा तामाङ र हेमा राईले बिहीबार थाइल्यान्डको बैंककमा जारी एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा विजय हासिल गरेका छन् ।
महिला ४८ किलो तौलसमूहमा सुष्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा पराजित गरेकी हुन् । हेमाले महिला ५७ किलो तौलसमूहमा सिंगापुरकी चौउजीमिन बेर्नेसलाई आरएसीआईको आधारमा दोस्रो राउन्डमा जित हासिल गरेकी हुन् ।

पुरुष ४८ किलो तौलसमूहमा नेपालका लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० मा क्वार्टरफाइनल खेल खेल्नेछन् । ५७ किलो तौलसमूहमा नेपालका इन्द्रबहादुर सुनारले लाओसका खेलाडीसँग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वार्टरफाइनल स्थान बनाएका छन् । उनले क्वार्टरफाइनलमा मंगोलियाका गन्तुमार लुण्डासँग प्रतिस्पर्धा गर्नेछन् ।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी)ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माइकल र काजिकिस्तानका एरजन गुल्सायविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।