इङ्लिस प्रिमियर लिगमा लिभरपुलको जित


सुर्खेत । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडलाई ६–१ गोलले हराएको छ । लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान दुई तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक गोल गरे ।

घरेलु टोली लिड्सका लुइस सिनिसटेराले एक गोल फर्काए । प्रिमियर लिगमा लिभरपुलले ५ खेलपछि जित निकालेको हो । गएको मार्च ५ तारिखमा म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले पराजित गरेपछि लिभरपुलले जित निकाल्न सकेको थिएन । त्यसपछि लिभरपुल बर्नमाउथ, रियल मड्रिड र म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

चेल्सी र आर्सनलसँग बराबरी खेलेको थियो । लिड्ससँगको खेलमा जितसँगै लिभरपुल ३० खेलमा ४७ अङ्क जोडेर आठौँ स्थानमा यथावत छ । पराजित लिड्स ३१ खेलबाट २९ अङ्क जोडेर १६औँ स्थानमा छ ।