टी-ट्वान्टी विश्वकपको ट्रफी नेपाल ल्याइने

काठमाडौं । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले शुक्रबार प्रेस विज्ञप्तिबाट विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपाल ल्याइने जानकारी गराएको छ ।

विश्वकप ट्रफी आगामी भदौमा नेपाल आइपुग्ने छ । आईसिसीले जनाए अनुसार विश्वकप ट्रफी भदौ १४ र १५ गते (अगस्ट ३० र ३१ ) मा काठमाडौंमा राखिनेछ ।  उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउने छन् ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो ।  यस अघि २०१८ मा विश्वकप ट्रफी नेपाल ल्याईएको थियो । विश्वकपको १०० दिने ‘ट्रफी टुर’ शुक्रबारबाट सुरु भएको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिनेछ ।

विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गर्नेछ । टी-ट्वान्टी विश्वकप २०२२ सुरू हुन अब १०० दिन बाँकी रहेको छ ।

अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।