सत्तारुढ दलबीच भागबण्डामा सहमति, आज मन्त्रिपरिषद् विस्तार र शपथको तयारी


सुर्खेत । सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुकी बसेको बैठकले कुन दलले कुन(कुन मन्त्रालय लिने भन्ने टुङ्गो लगाएको हो । तर कुन मन्त्रालय कसलाई भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन । थपिएका मन्त्रीहरुले आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

शपथ ग्रहणपछि दिउँसो ४ बजे नेपाली कांग्रेससहितका विश्वासको मत दिएका दलहरुको बैठक बस्ने समेत तयारी गरिएको छ । दलहरुले यसअघिको सहमति अनुसार राष्ट्रपति र सभामुख नेकपा एमालेले नै पाउने सहमति गरेका छन् । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने भएको छ ।

यस्तै एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३–३ र जनमत पार्टीले एउटा मन्त्रालय लिने सहमति भएको छ । जसपालाई दिने मन्त्रालयबारे टुङ्गो लागेको छैन । जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति हुन नसकेको हो ।

नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ । सहमति अनुसार दुई राज्यमन्त्रीसहित आठ मन्त्रालय लिने एमालेले रक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत मन्त्रालय पाउने छ ।

माओवादीले स्वास्थ्य, सञ्चार तथा प्रविधि र भूमिसुधार पाउने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ ।

पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्रीको रुपमा सरकारमा जाने भएका छन् । राप्रपाले सहरी विकास र खेलकुद मन्त्रालय दाबी गरेको छ । जनमतले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको छ । अहिले बिहान फेरि सत्ता गठबन्धनको बैठक बसेर सहमतिलाई अन्तिम रुप दिने तयारी गरिएको नेताहरुको भनाई छ ।

हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । तर, भागबण्डामा असहमति जनाउँदै उपेन्द्र यादव भने बैठकको बीचमै बाहिरिएका हुन् ।