विमान दुर्घटनाको विषयमा अनुमानको भरमा नबोल्न प्राधिकरणको निर्देशन


सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि सरकारले जाँच आयोग गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्वकर्मचारीलाई नबोल्न निर्देशन दिएको हो ।

सोमवार प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर प्रतिवेदन बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल र अनुमान गर्नु वाञ्छनीय नहुने बताएका हुन् ।

आइतवार त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यति एअरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज पोखरा विमानस्थलबाट दुई किलोमिटरको नजिककमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ वटा शव भेटिएको छ भने बाँकी तीन जनाको शव खोजी भइरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ । जहाजको ुब्ल्याक बक्सु फेला परिसकेको र काठमाण्डौ ल्याइ जाँच आयोगलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ ।