करार जनशक्तिको भरमा कर्णालीको स्वास्थ्य क्षेत्र

सुर्खेत । कर्णाली प्रदेशले अझै पनि स्वास्थ्य जनशक्तिको अभाव झेलिरहेको छ । जनशक्तिको अभाव हुँदा स्वास्थ्य क्षेत्र करार जनशक्तिकै भरमा रहेको हो ।

कोभिड पछि स्वास्थ्य क्षेत्रमा पछिल्लो समय भौतिक पूर्वाधारमा प्रगति भए पनि जनशक्ति अभाव अझै पनि छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आठ सय ८७ कुल दरबन्दी मध्य तीन सय छ जना मात्रै स्थायी दरबन्दीमा कार्यरत छन् । अझै ६५ प्रतिशत तथा पाँच सय ८१ पद रिक्त रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा रबिन खड्काले अझै पनि जनशक्तिको अभाव रहेको बताए । उनले भने, ‘प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि आठ सय ८७ दरबन्दी स्वीकृत गरेको थियो । त्यस मध्य अहिले ३५ प्रतिशत मात्रै पदपूर्ति छ । धेरै जनशक्ति करारमै छन् ।’

दरबन्दी अनुसार पदपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिनाई भएको उनको भनाई छ । यद्यपी करारमा भए पनि जनशक्ति लिएर सेवा प्रवाह गरिरहेको उनले बताए ।

उनले प्रदेशमा हालसम्म स्थायी दरबन्दीमा १४ जना मात्रै विशषज्ञ चिकित्सक रहेको जानकारी दिए । प्रदेश अस्पतालमा जनशक्ति बढी भए पनि अन्य जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा जनशक्ति कम भएको उनले बताए ।

सिमित जनशक्तिको भरमा स्वास्थ्य सेवा दिइरहेको उनको भनाई छ । उनका अनुसार प्रदेशभर एक जना पनि मेडिकल अधिकृत स्थायी दरबन्दीका छैनन् ।

उहाँका अनुसार प्रदेशभर चिकित्सक, नर्स, पारामेडिक्स, ल्याबका जनशक्ति गरेर छ सय ५७ जना करारमा कार्यरत छन् । चिकित्सकको दरबन्दी एक सय ३३ रहेकोमा २८ जना मात्रै पदपूर्ति भएको छ । ९२ जना चिकित्सक करारमा कार्यरत छन् ।

यस्तै नर्सिङ एक सय ५७ दरबन्दी मध्य ७९ जनाको मात्रै पदपूर्ति भएको छ । ७६ जना नसिंङ स्टार्फ करारमा कार्यरत छन् । पारामेडिक्स २८ जनाको दरबन्दी छ । तर ४५ जना स्थायीय पदपूर्ति रहेको छ । ९२ जना करारमा कार्यरत छन् । ल्याबको ३५ दरबन्दी रहेकोमा १४ पदपूर्ति भएको छ । ५० जना करारमा कार्यरत छन् ।

उनले अझै पनि प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्टाउने नगरेको बताए । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुल बजेटको कम्तिमा १० प्रतिशत बजेट छुट्टाउनु नै पर्छ । तर कर्णाली प्रदेशले कुल बजेटको ८ दशमलब ८७ प्रतिशत मात्रै बजेट छुट्टाउने गरेको उनले जानकारी दिए ।

बजेट निर्माण र कार्यान्वयनमा प्राविधिक जनशक्ति र स्थानीय तहले नीति निर्माण गर्दा स्वास्थ्यका तथ्यांक प्रयोग नगर्दा स्वास्थ्य क्षेत्रमा सोचे अनुसार सुधार हुन नसकेको उनको भनाई छ ।