प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट :  एपीएफ र मधेस प्रदेश विजयी


सुर्खेत । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र मधेस प्रदेश विजयी भएका छन् ।

इटहरीमा भएको आजको पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई ८३ रनले हरायो । एपीएफले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको बाग्मतीले २० ओभरमा नौ विकेट गुमाएर ८३ रनमात्रै बनायो । बाग्मतीका लागि हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाइन् । एपीएफका लागि निशा भटले तीन र सीता राना मगरले दुई विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा चार विकेट गुमाएर एक सय ३६ रन बनायो । एपीएफका लागि इन्दु बर्माले ३८ र सीता राना मगरले ३६ रन बनाइन् । बाग्मतीकी अस्मिका कर्माचार्य, खुशी डङ्गोल, मनिशा उपाध्याय र सोनी पाख्रिनले एकरएक विकेट लिइन् ।

प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो । समूह ए मा रहेको एपीएफ चार अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । दुवै खेल हारेको बाग्मती तालिकाको तेस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा मधेस प्रदेसले कर्णाली प्रदेशलाई आठ विकेटले हराएको छ । कर्णालीले दिएको ८० रनको लक्ष्य मधेसले १० ओभर २ बलमा दुई विकेट गुमाएर भेटायो । मधेसका अनुराधा चौधरीले नटआउट ३८ रन बनाइन् । कर्णालीकी बिना थापाले दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा छ विकेट गुमाएर ७९ रन बनायो । कर्णालीका लागि त्रिश्ना विश्वकर्माले सर्वाधिक १५ रन बनाइन् । मधेसकी भूमि सिंहले चार र अमिरन निशाले दुई विकेट लिइन् ।

प्रतियोगितामा मधेसको यो पहिलो जित हो । समूह ुबीु मा रहेको मधेस दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । दुवै खेल हारेको कर्णाली तालिकाको पुछारमा छ ।

प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी आठ टोलीले खेल्दैछन् । विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।