काठमाडौं । ५ देखि ११ बर्षका बालबालिकालाई लगाउने भनिएको कोरोनाविरुद्धको ‘पेडियाट्रिक’ फाइजर खोप जेठ ३१ र असार ५ गते आउने भएको छ।
अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नि:शुल्क दिन लागेको ‘पेडियाट्रिक’ फाइजर खोपको पहिलो चरणको खोप आउन लागेको हो।
जम्मा ८४ लाख मात्रा खोप आउने भए पनि खोपको भण्डारणाको क्षमता अनुसार चरणबद्ध तरिकाले खोप आउन लागेको हो।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार जेठ ३१ गते फाइजर खोपको घोलक र असार ५ गते खोप आउने जानकारी आएको बताए। ‘पहिलो चरणमा कति खोप आउँछ भन्ने सबै डिटेल जानकारी सहितको पत्र त आएको छैन, तर हामीलाई ३१ जेठ र असार ५ मा पहिलो चरणको खोप आउने जानकारी आएको छ’‚उनले भने।
सरकारले असार ९ गतेबाट ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजरको (पेडियाट्रिक डोज) खोप दिने निर्णय गरेको छ। दुई चरणमा गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो समूहका ३९ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ।
पहिलो चरणमा २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म खोप लगाइने र यही चरणमा खोप लगाएकालाई दोस्रो डोज खोप साउन २ गतेदेखि ८ लगाउन शुरु गरिने बताए।
यस्तै दोस्रो चरणमा भदौ ५ गतेदेखि ११ गतेसम्म ५० वटा जिल्लाका बालबालिकालाई पहिलो मात्रा खोप लगाइने र यो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा खोप भदौ २७ गतेदेखि असोज १ गतेसम्म खोप लगाइने मन्त्रालयले जनाएको छ।
दुबै चरणको खोप अभियानका लागि भने विद्यालयमा खोपकेन्द्र तोकिएको छ।
पहिलो चरणमा खोप झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा जिल्लामा लगाउने तयारी गरिएको छ।


फरकबाटो २८ जेष्ठ २०७९, शनिबार १५:००