युएई र पपुवा न्युगिनीविरूद्धको सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना युएईमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक टिम घोषणा गरेको छ।

टिममा राजु रिजालले पुनरागमन गरेका छन्। यस्तै अनिलकुमार साह, भीम सार्की, पवन सर्राफ र सुसन भारी टिममा फर्किएका छन्। चोटका कारण टिम बाहिर रहेका सोमपाल कामी र करण केसी प्रारम्भिक टिममा छन्।

टी-२० टिममा रहेका शरद भेषवाकर,जितेन्द्र मुखिया, कुशल मल्ल, लोकेश बम, साहब आलम, प्रदीप ऐरी र अभिनास बोहरा बाहिरिएका छन्। क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने जनाएको छ।

नेपालको प्रारम्भिक टिम
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेककुमार यादव, सागर ढकाल, गुल्शन झा, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की, पवन सर्राफ, सुसन भारी, राजु रिजाल, अनिलकुमार साह

सिरिजमा नेपालसहित घरेलु टिम युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ।

नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।

सिरिजमा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ। दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।

यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।

लिग-२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकामा छैटौं स्थानमा छ।

शीर्ष स्थानमा ओमान २३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ।

तेस्रो स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक र चौथो स्थानको युएईको १० खेलबाट १२ अंक छ।

नामिबिया ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ।

नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।

त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च १६- शारजाह
नेपाल भर्सेस युएई –  मार्च १८- दुबई
नेपाल भर्सेस युएई – मार्च २१- दुबई
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च २२- दुबई