‘वित्तीय साक्षरताले कमाउने मात्र होइन सही सदुपयोग गर्न सिकायो’

सुर्खेत । वराहताल गाउँपालिका–५, चेपाङकी कमला रावतको वित्तीय साक्षरता कक्षा लिएपछि घरमै कमाइ गरेर सानोतिनो खर्च व्यवस्थापन गर्न थालेकी छन् । भारतको रोजगारीमा रहेका श्रीमान्को कमाइले यसअघि घर खर्च धानिँदै आएको थियो । कमलाले घरमा कुखुरा, बाख्रा पालेकी छन् । करेसामा तरकारी लगाएकी छन् । आफुहरुले गरेको कमाईलाईलाई कसरी सहिसदुपयोग गर्ने भनेर थाहा पाएको पाइन् ।

उनले भनिन्, “खेतीले वर्षभरि खान पुग्दैन । अहिले सानोतिनो खर्च मैले आफैँ व्यवस्थापन गर्छु । ऋण गर्नुपरेको छैन । आयआर्जन बढ्दै गएको छ । ’वित्तीय साक्षरताले कमाउने मात्र होइन सही सदुपयोग कसरी गर्ने भनेर थाहा पाएका छौँ ।”

सोही ठाउँकी पम्फा सारुले पनि वित्तीय साक्षरता कक्षामा सहभागी भएर घर खर्चका लागि आयआर्जन गर्दै आएकी छन् । उनले भनिन्, “घरमा खानाका लागि अन्नबाली आफैँ उत्पादन गर्छौं । धेरै भएको बिक्री गरी कमाइ गरेको छु ।” उनले भनिन्, “पोषणयुक्त खाना उत्पादन गर्छाैं । तरकारी खेतीका लागि प्लास्टिक टनेल पनि बनाएका छौँ । आफूलाई पनि खान हुन्छ । बढी भएको बिक्री गरेर केही आम्दानी पनि हुन्छ ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषिक्षेत्र विकास कार्यक्रमले महिलालाई व्यावसायिक सीप, व्यावसायिक योजना, जोखिम व्यवस्थापन, बचत तथा कर्जा व्यवस्थापन, उद्यमशीलता विषयमा जानकारी ४० हप्ते वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा सञ्चालन गरेको थियो । सो वित्तीय साक्षरता कक्षाबाट आम्दानी, खर्च व्यवस्थापन, बचतका साथै अन्य ज्ञानका कुरा सिकाइएको बताइएको छ । लगाएको खेतीले वर्षभरि खान नपुग्ने भएपछि गाउँका अधिकांश पुरुष कमाइका लागि भारत जान्छन् ।

वित्तीय साक्षरता पछि अहिले गाउँमा महिलाहरु पनि आयआर्जनमा लागेका छन् । पोषणयुक्त खाना उत्पादनसँगै उनीहरूले सो अनाज बिक्री गरेर आम्दानी गरी घरव्यवहार चलाउन सहज भएको उनीहरूको भनाइ छ । सोही ठाउँकी टीका सुनारले घरमा थोरै भए पनि तरकारी खेतीसँगै कुखुरा पाल्ने, बाख्रा पाल्ने गरेको बताइन् । उनले भनिन्, “पहिले पहिले कृषिबाट केही हुँदैन भन्ने लाग्थ्यो । श्रीमान्को इन्डियाको कमाइले घर खर्च चलाउँथ्यौँ ।”

“मेहनत गरेपछि कृषिमा सुन फल्ने रहेछ । घरमै सानोतिनो खर्च आफैँ जुटाउन सक्ने भएका छौँ ।” उनले भनिन् । कृषि क्षेत्र विकास कार्यक्रम संयोजक विनोदकुमार भट्टराईले गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी कृषकको आम्दानीमा वृद्धि तथा पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले वित्तीय साक्षरता कक्षाले व्यावसायिक योजना र स्थानीयस्तरमै अर्गानिक खाना उत्पादनमा वृद्धि भएको बताए । उनले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको बताए । उनले भने, “वित्तीय साक्षरता कक्षामा व्यावसायिक योजना, जोखिम व्यवस्थापन मात्र नभएर पोषणसम्बन्धी ज्ञान पनि दिइन्छ ।”