सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश निजामती सेवा सम्बन्धी विधेयक प्रदेशसभामा टेबुल गरेको छ । बुधबार बसेको प्रदेश सभाको दशौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरिएको हो ।
सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिम बहादुर शाहीले उक्त विधेयक बैठकमा पेश गरेका हुन् । प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी गराउने उद्देश्यले विधेयक निर्माण गरिएको हो ।
विधेयकमा निजामती सेवाको पदपूर्ति, पदपूर्ति सम्बन्धी विशेष व्यवस्था, संगठन तथा दरबन्दी व्यवस्था, सरुवा, बढुवा, कार्यसम्पादन मुल्याङ्कन, कर्माचारीहरुलाई विशेष सुविधालगायतका विषयहरु समटिएका छन् । निजामती सेवा अन्तरगत प्रदेश आर्थिक योजना तथा तथ्यांक सेवा, प्रदेश इन्जिनियरिङ्ग सेवा, कृषि सेवा, प्रदेश प्रशासन सेवा, प्रदेश वन सेवा, प्रदेश शिक्षा सेवा, प्रदेश स्वास्थ्य सेवा र विविध सेवा विधेयकमा उल्लेख गरिएको छ ।


फरकबाटो ११ जेष्ठ २०७९, बुधबार २०:४६