युएईमाथि नेपालको शानदार जित


सुर्खेत । त्रिदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। बुधबार मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए।

नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो।

युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले ५१ रन जोडे। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे।