बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद्को अनुमान

सुर्खेत । मौसमविद्हरुले दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने अनुमान गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले पर्सी बिहीबारदेखी क्रमिक रुपमा मौसममा सुधार आउने बताइन ।

महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ । सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ । मनसुनपछि पनि केही स्थानमा आरीघोप्टे वर्षा भएको छ ।

हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन् । बाक्लो हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले सुझाएका छन् । सूदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना भएकाले सचेत रहन विभागले सूचित गरेको कान्तिपुरले समाचार लेखेको छ ।