काठमाण्डौ–११ स्पेनको क्लबसँग २–१ ले पराजित


सुर्खेत । स्पेनको क्लब कासेरेन्यो सिपीसँगको मैत्रीपूर्ण फुटबलमा काठमाण्डौ–११ पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा केहीबेरअघि सकिएको खेलमा काठमाण्डौ–११ स्पेनको चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीसँग दुई–एक गोलले पराजित भएको हो । यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुई वटै मैत्रीपूर्ण खेलमा सुखद नतिजा निकालेको छ ।

आज कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक–एक गोल गरे । ४१ औँ मिनेटमा काठमाण्डौ–११ का गोलकिपर विशाल श्रेष्ठको गल्तीको फाइदा उठाउँदै अल्भारोले पहिलो हाफमा अग्रता दिलाएका थिए ।

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाण्डौ–११ ले ८२ औँ मिनेटमा दोस्रो गोल खायो । स्पेनिस टोलीका लागि डेभिडले गोल गरे । त्यसको चार मिनेटपछि काठमाण्डौ–११ का लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काउँदै अन्तर घटाए पनि बाँकी समयमा थप गोल हुन सकेन र भ्रमणकारी टोली विजयी भयो ।

यसअघि कासेरेन्योले हिजो बुधवार पोखरा रङ्गशालामा गण्डकी–११ सँग खेलेको थियो । त्यस खेलमा कासेरेन्योले गण्डकी–११ लाई तीन–शून्य गोलले हराएको थियो ।

नेपालमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न स्पेनको क्लब नेपाल आएको हो । स्पेनमा रहेको नेपाली राजदूतावास, अखिल नेपाल फुटबल सङ्घ, काठमाण्डौ जिल्ला फुटबल सङ्घ र कास्की जिल्ला फुटबल सङ्घको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेशनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।