भ्रष्टाचार अभियोग लागेका कांग्रेसका टेकबहादुर गुरुङको सांसद पद निलम्बन


सुर्खेत । गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना निकालेर अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जानकारी गराएको हो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले काठमाण्डौ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले २०७५ सालको माघमा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङसहित १६ जनाविरुद्ध मुद्दा दायर भएकोमा गुरुङलाई मात्रै ३१ करोड रुपैयाँको बिगो तोकिएको छ ।

कांग्रेसबाट निर्वाचित गुरुङले सांसद पदको शपथ भने लिइसकेका थिए ।