
काठमाडौं । नेपाली काँग्रेसको बूढानीलकण्ठ बैठकले १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु अपरिहार्य भएको ठहर गरेको छ ।
बुधबार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो ठहर गरेको नेत्री डिला सङ्ग्रौलाले जानकारी दिए ।
‘पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व पुनः एक कार्यकाल नेपाली कांग्रेसका लागि अपरिहार्य भएको ठहर बैठकले गरेको छ’, नेतृ सङ्ग्रौलाले भने ।
पार्टी सभापति देउवाको नेतृत्वमा महाधिवेशनमा जाने निर्णय भएको उनको भनाइ छ । सभापतिमा देउवाको निरन्तरता अपरिहार्य भएको ठहर गरेको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यका आकाङ्क्षीको व्यवस्थापनका लागि पुनः छलफल गर्ने भएको छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीमा लड्ने बताए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि नै महामन्त्रीको आकाङ्क्षी भएको घोषणा गरिसकेका छन् । बुधबारको छलफलमा समेत प्रवक्ता शर्माले महामन्त्रीमा आफ्नो दाबी रहेको दोहोर्याएका छन् ।
बूढानीलकण्ठ छलफलले पार्टीलाई एकताबद्ध गरेर अगाडि बढ्न थप छलफल आवश्यक भएको ठहर गरेको सङ्ग्रौलाको भनाइ छ ।

फरकबाटो २२ मंसिर २०७८, बुधबार १८:१९