सार्वजनिक गाडीमा मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई निर्देशन

काठमाण्डौ । संसदीय समितिले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् । समिति बैठकमा सभापति खड्काले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक सीमा अतिक्रमण गरी बनाएका घरटहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिए ।

उनले भनिन्, ‘सडक सीमा अतिक्रमण गरी सडक बनाएका घरटहरा हटाउन समिति भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्रालयलाई निर्देशन गर्दछ । निर्माणाधीन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तरोन्नतिको कार्य निर्धारित समय र गुणस्तरीय बनाएर तीव्र रूपमा अगाडि बढाउन भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । पेट्रोलियम पदार्थको मूल्य समायोजनमा वैज्ञानिक ढङ्गले स्वचालित प्रणाली अपनाएको भए पनि सार्वजनिक गाडीले मनोमानी रूपमा भाडा असुल्ने सर्वसाधारणको गुनासो आएका कारण यसको नियमित रूपमा भरपर्दो अनुगमन गर्न र संस्थागत संयन्त्र तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन समिति भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले देशका मुख्य सडकहरूमा बाढी, पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिए ।