आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको आग्रह


सुर्खेत । नेपाल टेलिकमले अरूको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज मङ्गलवार विज्ञप्ति निकालेर राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ ।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधा सुरक्षित साथ प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ । ‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएमा आफू स्वयं उपस्थित भइ प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिम कार्ड लिँदा वा सिम कार्ड परिवर्तन गर्दा मापदण्ड कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ । नयाँ सिम कार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरूपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र एवम् सम्पर्क नम्बर स्पष्टरूपमा लेख्नुपर्ने जनाइएको छ ।

स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिम कार्ड उपलब्ध गराइने छ र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचयपत्रको नाम, बुबाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने भएको छ । सिम कार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिम कार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिम कार्ड परिवर्तनको फाराम पूर्णरूपमा भरेको–नभरेको जाँचपछि ग्राहकको परिचयपत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिम कार्ड उपलब्ध हुनेछ ।

ग्राहक स्वयं उपस्थित नभइ अर्को व्यक्तिको नाममा दर्ता रहेको सिम कार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाइ त्यसको प्रतिलिपि रितपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु सम्पन्न भएपछि सिम कार्ड परिवर्तन हुन्छ ।

सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरि लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचयपत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भइ निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

ग्राहक अशक्त भएमा उसको मञ्जुरिनामा पत्र र परिचयपत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाणपत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्रसहित उपस्थित भएमा सिम कार्ड उपलब्ध हुने व्यवस्था गरिएको छ ।

वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्टी गरि सिम कार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।