राष्ट्रपतिको निर्वाचन चल्दै , कसले मार्ला बाजी ?


सुर्खेत । आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । गणतन्त्र स्थापनापछि चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन हुने भएको छ । यसअघि पहिलो राष्ट्रपतिका रुपमा डा. रामवरण यादव निर्वाचित भएका थिए भने विद्यादेवी भण्डारी दुई कार्यकाल पुरा गरि विदा हुँदैछिन् ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भई निर्वाचन चल्दै गरेको जनाएको छ । बानेश्वरस्थित संसद् भवनमा स्थापना भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले आज बिहान १० बजेदेखि सुरु भएको निर्वाचन दिउसो ३ बजेसम्म चल्नेछ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रपतिको उम्मेदवारको रुपमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ छन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सदस्यहरू र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन् ।

दलहरूले क्रम भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएको छ ।

निर्वाचन कार्यालयले संघीय सांसदहरूका लागि एउटा र प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी दुईवटा मतदान केन्द्र बनाएको छ ।

अंकगणित अनुसार काँग्रेसका रामचन्द्र पौडेल निर्वाचित हुने सम्भावना बलियो देखिन्छ ।