विद्यालय उमेरका बालिका यौनशोषणमा, साइबर अपराध समेत बढ्दो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा जम्मा १३ वर्षकी भइन् । तर विद्यालय पढ्दै गरेकी उनको पेटमा ७ महिनाको गर्भ रहेको उनको परिवारले थाहा पायो । परिवारले बालिकालाई सोधपुछ गरेपछि मात्रै थाहा भयोकी वीरेन्द्रनगर उपत्यकाकै उनका प्रेमीले उनलाई पटक पटक विवाहको आश्वासन देखाएर यौन शोषण गरेका रहेछन् ।

बालिका गर्भवती भएपछि उनका प्रेमी परिवार सहित भागेर भारत पसेपछि १३ वर्षीय बालिकाले बिना बुवाको बच्चा जन्माइन् । तर यो कुरा समाजले नपचाउने भएपछि बच्चा अरुकसैको जिम्मा लगाएर उनी नयाँ जिवन बिताइरहेकी छन् ।

वीरेन्द्रनगरकै एक अर्को विद्यायकी कक्षा ७ मा अध्ययतरत बालिकालाई नचिनेको फेसबुक म्यासेन्जरबाट पटक पटक म्यासेज आयो । लामो समयसम्म उनले वास्ता नगरेपछि बालिकाको नग्न तस्बिर र भिडियो बनाएर उक्त म्यासेन्जरबाट आउन थालेपछि उनी मानशिक समस्यामा परिन् । पैसा र रिचार्ज माग्दै नपठाएको खण्डमा बालिकासंगको तस्बिर र भिडियो आफन्तलाई पठाउने भन्दै युवाले धम्की दिन थालेपछि उनले शिक्षकलाई उक्त कुराको जानकारी गराएपछि अहिले साइबर अपराधमा मुद्धा दर्ता भएको छ ।

यि त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय सुर्खेत जिल्लामा विद्यालय उमेरका साना बालिकाहरु यौन शोषणमा पर्ने गरेको सिमान्तकृत महिलाहरुका लागि महिला संस्था –वाम) का कार्यकारी निर्देशक तथा वियोन बेइजिङ्ग प्रदेश कमिटिका अध्यक्ष मधुरानी ढकालले जानकारी दिइन् । उनले यस्ता धेरै केशहरु भएपनि बाहिर आउन नसकेको उनले बताईन् ।

आइतबार वाममा आयोजित स्टोरी सेयरिङ्ग बैठकमा सहभागीहरुले समेत विद्यालय उमेरका बालिकाहरु जोखिममा रहेको भन्दै कक्षा कोठामा यस्ता खालका घटनाबाट बच्नका लागि शिक्षण गर्नुपर्ने बताएका थिए ।

यौनशोषणमा परेका बालिकाहरुले असुरक्षित गर्भपतन समेत गराउने गरेको सहभागीहरुले सुनाएका थिए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पर्शुराम चौधरीले अपरिचित व्यक्तिहरुबाट भन्दापनि आफ्नै प्रेमीहरुले यस्ताखालका घटनाहरु घटाउका केही केशहरु प्रहरीको जानकारीमा रहेको बताए ।