
सुर्खेत । बालबालीकाहरुमाथी जलबायु परिवर्तनको असर प्रत्यक्ष रुपमा परेकोले यसको असर घटाउने नीति लिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
आज बुधबार सेभ द चिल्ड्रेनले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको जलवायु न्यायका लागि बालबालिकाको आवाज विषयक सार्बजनिक तथा नीतिगत संवाद कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अमरज्योती मावीका छात्रा चेतना रानाले भविश्यको पुस्ताको अस्तित्वलाई ध्यान दिएर भावी पुस्ताले काम गर्नुपर्ने बताईन् ।
उनले जलवायु परिवर्तनलाई सघाउ पुर्याउने काम मानव समुदायबाट नै भएको भन्दै सरकारले नीति बनाउँदा यसको असर न्युनिकरणतर्फ ध्यान दिनुपर्ने सुझाव दिइन् ।
अमर ज्योती मावीकै छात्रा सविता ओलीले समेत वातावरणलाई असर गर्ने खालका पलाष्टिकजन्य वस्तुहरुको नियन्त्रण गर्नतर्फ सोच्नुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा सहभागि बालबालिकाहरुले रासायनिक मल प्रयोग हटाउन कर्णाली प्रदेश सरकारले नीतिगत योजना ल्याउनुपर्ने, विद्यालय तहमा नै बालबालिकाहरुलाई यस सम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख अनिता ज्ञवालीले पृथ्वीलाई स्वच्छ रुपमा जसरी प्राप्त गरेको त्यसरी नै अर्को पुस्तालाई दिन सक्नुपर्ने बताइन् ।
नागरिक समाजको तर्फबाट जलवायु परिवर्तनको असर रोक्न वकालत गर्ने उहाले बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जलबायु परिवर्तनको असर सम्बन्धि रिसर्चको प्रस्तुतीकरण समेत गरिएको थियो । जसमा जलवायु परिवर्तनको असर विश्वभरका बालबालिकाले धेरै भोगिरहेको पाइएको छ । सभे द चिल्ड्रेनले गरेको अध्ययनमा जलवायु परिवर्तनको असरले बालबालिका धेरै प्रभावित भएको पाइएको हो ।
नेपालका ७ हजार ६ सय ७४ बालबालिकासहित विश्वभरका विभिन्न देशका बालबालिकाको प्रत्यक्ष सहभागितामा गरिएको अध्ययनमा गरिबीको रेखामुनी रहेका, असमानता र भेदभावबाट सबैभन्दा बढी प्रभावित भएका बालबालिका जलवायु परिवर्तनको बढी प्रभावमा परेको देखिएको छ ।
सर्वेक्षणमा सहभागि ८५ प्रतिशत बालबालिकाले जलवायु परिवर्तन वा असमानतासँग जोडिएको परिवर्तन देखिरहेको बताएका छन । भने ६९ प्रतिशत
बालबालिकाले मौसममा आएको परिवर्तन झन खराब हुँदै गएको बताएका छन । त्यसैगरी, ४२.८ प्रतिशत बालबालिकाले सामान्यतया जलवायु परिवर्तनको असरले बालबालिकाको मानसिक स्वास्थ्य अवस्था विग्रदै गएको सुनाएका छन ।
सर्वेक्षणमा सहभागि ७४.४ प्रतिशत बालबालिकाले जलवायु संकट तथा आर्थिक असमानतालाई सम्बोधन गर्न सबैको भुमीका हुने भन्दै सरकारले नीति र नियम बनाएर कार्यान्वयन गनुपर्नेमा जोड दिएका थिए ।
उनिहरुले जलवायु परिवर्तन र यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित हुनेतर्फ सचेत गराउँदै बालबालिका क्षेत्रमा लगानी बढाउन, बालबालिकाको आवाज सुन्न र जलवायु परिवर्तनका लागि नीतिगत कार्यहरु लिन सुझाव समेत दिएका छन ।

फरकबाटो २८ मंसिर २०७९, बुधबार २०:३०