भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा स्वीकृत


सुर्खेत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा स्वीकृत भएको छ । लोकसभा चुनावको नतिजापछि आज प्रधानमन्त्री मोदीले बुझाएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले स्वीकृत गरेकी हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गरेको बीबीसीले जनाएको छ । वर्तमान १७ औँ लोकसभाको कार्यकाल जुन १६ तारिखमा सकिँदैछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पर्सि जुन ७ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनको संसदीय दलको बैठक बसेर भोलिपल्ट अर्थात् जुन ८ नयाँ सरकारको शपथ ग्रहण समारोह गर्ने तयारी छ ।

हिजो भएको लोकसभा चुनावको मतगणनामा भाजपाले दुई सय ४० सिट जितेको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएको दुई सय ९२ सिट भएको छ । कांग्रेसले ९९ सिट जितेको छ । कांग्रेस नेतृत्वको गठबन्धन इन्डियाको दुई सय ३४ सिट भएको छ ।

सरकार बनाउन दुई सय ७२ सीट चाहिन्छ । एनडीएले दुई सय ९२ सिट जितेसँगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना उच्च रहेको हो ।