आइएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त

सुर्खेत । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन् ।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवं बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ । पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवं प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन् ।

काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आइएमई पेका अध्यक्ष एवं ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।