राजस्वको कर्मचारी बनेर ठगी गरेको आरोपमा आठ जना पक्राउ


सुर्खेत । आफूलाई आन्तरिक राजस्व कार्यालयको कर्मचारी भन्दै काठमाडौंका होटल तथा पसलहरूबाट रकम असुली गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको जनाएको हो । प्रहरीले उनीहरूलाई आइतबार सार्वजनिक गरेको छ । राजस्व कार्यालय लाजिम्पाटका कर्मचारी भएको झूठा विवरण दिएर रकम असुली गर्दै आएको खुलेको छ ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले उनीहरूबाट ८४ हजार बरामद गरिएको बताएका छन् ।

उनीहरूले होटेल, पसल, रेस्टुरेन्ट र फुटपाथका पसलहरूबाट रकम असुलेका थिए । व्यापारीले दिएको सूचनाका आधारमा प्रहरीद्धारा पक्राउ पर्नेमा सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, पूर्वी नवलपरासीका बीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामका सागर जङ्ग लुहार, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट तथा डेबिड धामी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले राजस्व कार्यालयको कर्मचारीसँग मिल्ने पोसाक लगाएका छन् । राजस्वकै परिचयपत्र पनि साथै रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई शुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्येका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयसँग मिल्नेगरी बनाएको नक्क्ली लेटरप्याड, स्टाम्प, रसिद र परिचयपत्र भेटिएको छ । डेबिडको कोठाबाट पनि सोही प्रकृतिका रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद गरिएको छ ।

उनीहरुबाट सम्झौता र रोजगारी फारम, एकाउन्ट एण्ड ट्याक्स सोलुसन लेखेको स्ट्याम्पबरामद गरिएको हो । उनीहरुविरुद्ध हालसम्म ४ जना व्यवसायीले लिखित जाहेरी दिएको र पीडितहरू आउने क्रम जारी रहेको काठमाडौंका प्रहरी प्रमुखले जानकारी दिए ।