पोखरामा किरियापुत्रीलाई जातीय विभेद गर्ने तीन जनालाई एक वर्ष कैद

सुर्खेत । सार्वजनिक किरियापुत्री भवनमा जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई कैद र जरिबाना तोकेको छ । पोखरा १६ बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद, ५० हजार जरिबाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले सोमवार पीडक देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीको फैसला सुनाएको हो ।

जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला भएको हो । ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि २ लाख जरिबाना, पीडितलाई २ लाख रुपैयाँसम्म क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्नका लागि चाबी माग्दा स्थानीय मोहनकुमार सुनारलाई जातीय भेदभाव गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितकोतर्फबाट शिव सुनारले बहस गरेका थिए ।

पोखरा १६ बाटुलेचौरमा २०७७ वैशाख १४ गते किरियापुत्री भवनको चाबी माग्दा मोहन सुनारलाई भेदभाव भएको भन्दै वैशाख १८ गते जाहेरी दिइएकाृे थियो । जाहेरी दिएको केही समयपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको थियो र अदालतमा थुनछेकको बहस हुँदा जनही १ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।