जुम्ली काली मार्सी धानको नयाँ जात विकास गरिँदै

सुर्खेत । जुम्ली काली मार्सी धानको नयाँ जात विकास गरिने भएको छ । १३ वर्षको अनुसन्धानबाट नयाँ जात विकास गरिएको कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख रमेश उमागाईले बताए। उमागाईका अनुसार धानलाई जुम्ली मार्सी १८, जुम्ली मार्सी २० र जुम्ली मार्सी–२२ नाम दिइएको छ । यी ३ जातको धान किसानको खेत र अनुसन्धान केन्द्रको आफ्नै जमिनमा परीक्षण गरिसकिएको छ ।

परम्परागत मार्सी धानमा ब्लास्ट रोगको प्रकोप बढ्न थालेपछि रोग प्रतिरोधी मार्सी धान विकासका लागि नार्कका वैज्ञानिक लागिपरेका थिए । विकसित नयाँ धान औपचारिक रूपमा घोषणा नगरिएको उनले बताए । नार्कले औपचारिक रूपमा घोषणा नगर्दासम्म किसानलाई वितरण नगर्न नमिल्ने समेत उनले जानकारी दिए ।

जुम्ली मार्सी धान १ हजार ४ सय हेक्टरमा लगाइन्छ । औसतमा प्रतिहेक्टर १ दशमलव ८ टन मार्सी उत्पादन हुन्छ । हरेक वर्ष ब्लास्ट रोगले मात्र २६ प्रतिशत नास गरिरहेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए । जुम्ली मार्सी धानको खेती चैत महिनामा सुरु भएर कात्तिक महिनामा फल भित्र्याइन्छ ।

अन्तर्राष्ट्रिय धानबाली प्रतिष्ठानका नेपाल प्रतिनिधि डा कृष्णदेव जोशीले मार्सी धानको अवस्था, शक्तिशाली जीवाणु र वातावरण धानको लागि अनुकूलित छ, या छैन भन्ने विषयले उत्पादनमा फरक पर्ने बताए ।