विपद् र कोभिड प्रभावितलाई भ्यालु भौचर कार्ड वितरण

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका विपद् तथा कोभिड प्रभावित र विपन्न परिवारलाई भ्यालु भौचर कार्ड वितरण गरिएको छ ।

युएसएआईडिको आर्थिक सहयोग, मर्सिकोर नेपालको अगुवाई र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित भकारी परियोजना अन्तरगत खाद्यान्नलगायत सामग्री राहत स्वरुप उपलब्ध गराउने उद्देश्यले भ्यालु भौचर कार्ड उपलब्ध गराइएको हो ।

किर्डाक नेपाल जुम्लाका लैङ्गिक समनता तथा सामाजिक समावेशीकरण अधिकृत नरवहादुर शाहीका अनुसार तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोट गाउँका ८३ घरलाई कार्ड वितरण गरिएको छ । कार्डमार्फत प्रत्येक परिवारलाई १० हजार ३ सय ५० रुपैयाँ सहयोग गरिएको छ । उनीहरुले सोही मुल्य बराबरको खाद्यलगायका समाग्रीहरु किनमेल गर्न सक्नेछन ।

जोखिम प्रभावित धरधुरीलाई आवश्यकतामा आधारित सहयोग गर्ने कार्यक्रम अन्तर्गत सो वडाहरुमा सर्वेक्षणको आधारमा वास्तविक जोखिममा रहेका परिवारलाई सहयोग गरिएको उनले बताए ।

विपद्बाट बढी प्रभावित भएकाहरुलाई पहिलो प्राथमिकता दिएर राहत वितरण गरिएको उनको भनाई छ । तिला गाउँपालिका वडा नम्बर ३ जोगिवाडा गाउँका ४३, स्याललुम्सेरा २२, सार्कीवाडा ४०, वडा नम्बर ४ नुवकोटका ८३ र साँपुलीका ७० घरलाई राहत उपलब्ध गराउने योजना रहेको छ ।
यस्तै अन्य वडाहरुमा पनि राहत उपलब्ध गराउने तयारी रहेको छ । तिला गाउँपालिका वडा नम्बर १ राराका ६५, वडा नम्बर ६ घोडेका २५, सुडीका ५०, वडा नम्बर ९ राँसाका २८ र वडा नम्बर ७ तुहिका २५ घरले पनि राहत पाउने भएका छन् ।

यसैगरि तातोपानी गाउँपालिका वडा नम्बर ४ हाँकुका ५५, वडा नम्बर ८ पारिवाडाका ४५, वडा नम्बर ८ मुछालदेउका २६, वडा नम्बर ७ सुर्कीका ३५ घरले भ्यालु भौचर पाउने किर्डाक नेपाल जुम्लाका कर्मचारी नवराज भट्टराईले बताए ।