
सुर्खेत । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज भारतलाई पत्र पठाउने तयारी गरेको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको हो ।
गृह मन्त्रालयले स्थलगत विवरणसहित हिजो परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् आज भारतीय विदेश मन्त्रालयलाई पठाउने तयारी छ । गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न पत्राचार गरेको हो ।
अन्तर्राष्ट्रिय मापदण्डविपरीत महाकाली नदीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि भारतीय पक्षलाई आग्रह गरिसकेको छ ।
बङ्गाबगड रिङ्गलताल क्षेत्रभन्दा माथि सहमति नभइ थप काम नगर्न भारतीय पक्षलाई भनिएको हो । भारतले दार्चुलाको सदरमुकाम खलङ्गा पारिपट्टि महाकाली नदीमा एकतर्फी बाँध बनाएका कारण बर्खामा नेपालतर्फको भूभाग बग्ने र डुब्ने जोखिम छ ।

फरकबाटो २० मंसिर २०७९, मंगलवार ०९:२७