माओवादी केन्द्रद्वारा कर्णाली प्रदेशसभाको बैठक बहिस्कार

सुर्खेत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली सरकार एकलौटी ढङ्गले अघि बढेको भन्दै प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । सरकार प्रमुख सत्ता साझेदारविना एकलौटी ढङ्गले अघि बढेको भन्दै माओवादी केन्द्रका सांसदले आज मङ्गलवारको प्रदेश सभा बैठक बहिष्कार गरेका हुन् ।

सरकार र प्रदेशसभामा आफ्नो पार्टीको कामलाई पूर्णरुपमा असहयोग गरेकाले बैठक बहिस्कार गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । उनले घाइते, अपाङ्गलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोत साधन समितिलाई पूर्णता दिने काम समेत बीचमै अलपत्र पारिएको आरोप लगाए ।

उनले माओवादी केन्द्रको भागमा परेका सबै काममा असहयोग गर्नु र माथिको आदेश भन्दै सचिवालयमा दर्ता समेत गर्न अस्वीकार गर्ने गरेको बताए । आफूहरुले उठाएका मागको हल नभए सदनमा उपस्थित नहुने उनले बताए । सरकारले सदनमा माओवादीलाई निषेध गर्न खोजिएका कारण आफूहरु सदनमा सहभागी हुन नसक्ने उनले बताए । उनले नेपाली काँग्रेस सरकार र सदनमा एक्लै हिड्न खोजेको आरोप लगाए ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरू बैठकबाट उठेर बाहिरिएपछि प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी तीन दल गठबन्धनको सरकार रहेको छ । यसअघि माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको थियो ।