स्कटल्यान्डसंग नेपाल ३ विकेटले पराजित

सुर्खेत । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई तीन विकेटले हराएको छ । नेपालले दिएको एक सय ३८ रनको लक्ष्य स्कटल्यान्डले ३२ ओभर १ बलमा सात विकेट गुमाएर भेटायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयो । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलले तीन विकेट लिए ।

नेपाललाई हराएसँगै स्कटल्यान्ड ३० खेलमा ४४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल २२ खेलमा १८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।