श्रीलङ्काले जित्यो विश्वकप छनोटको उपाधि, नेदरल्यान्ड्स १ सय ५ रनमै आउट


सुर्खेत । श्रीलङ्काले आईसीसी विश्वकप छनोटको उपाधि जितेको छ । आइतवार भएको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय २८ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो ।

श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३ ओभर ३ बलमा १ सय ५ रनमै अलआउट भयो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ श्रीलङ्काका महेश थिक्सेनाले ४, दिलशन मदुशन्काले ३ र वानिन्दु हसरङ्गाले २ विकेट लिए ।

यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ५ बलमा २ सय ३३ रनमा अलआउट भयो । श्रीलङ्काका सहन अर्चचिगेले ५७, सदीरा समाराविक्रमाले ४३ र चरिथा असलंकाले ३६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भान वीक, रायन क्लेन, विक्रमजित सिंह र सकिब जुल्फिकरले २र२ विकेट लिए ।

१० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोबररनोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् । सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बङ्लादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् । प्रतियोगिताको आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।