१२ वर्षदेखि माथिकालाई लगाउन मिल्ने एक करोड कोभिड खोप खरिद गरिने

काठमाण्डौ । सरकारले १२ वर्षदेखि माथिका व्यक्तिलाई समेत लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।

सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । यो फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।