राष्ट्रिय युवा संघले गर्यो जनसभा स्थलको फोहोर व्यवस्थापन

सुर्खेत । नेकपा एमाले सुर्खेतले आइतवार वीरेन्द्रनगरको घण्टाघरचोकमा आयोजना गरेको बृहत् जनसभा स्थलमा भएको फोहोर व्यवस्थापन गरिएको छ । एमालेको जनसंगठन राष्ट्रिय युवा संघ सुर्खेतले जनसभा सञ्चालनका क्रममा भएको फोहोर सोमवार बिहान संकलन गरी व्यवस्थापन गरेको हो । संघमा आवद्ध झन्डै ५० जना युवाहरुको सहभागितामा कागज तथा प्लाष्टिकजन्य फोहोर उठाएर सरसफाइ गरिएको थियो ।

सार्वजनिक स्थानमा कार्यक्रम गर्दा हुने फोहरको व्यवस्थापनमा ध्यान दिनुपर्छ भन्ने सन्देश सबैमा प्रवाह गर्न आफूहरुले यस्तो क्रियाकलाप गरेको राष्ट्रिय युवा संघ सुर्खेतका अध्यक्ष वासु आचार्यले बताए । सरसफाइमा युवाहरुलाई साथ दिन एमाले सुर्खेतका सचिवालय सदस्य पूर्णप्रसाद पौडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो । आइतवार उक्त स्थानमा नेकपा एमालेले बृहत् चुनावी जनसभा सम्पन्न गरेको छ । विशाल जनसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

राष्ट्रिय युवा संघ सुर्खेतले पछिल्लो समय सामाजिक क्षेत्रहरुमा पनि थुप्रै क्रियाकलाप सञ्चालन गर्दै आएको छ । संघले रक्तदान, वृक्षारोपण, जनचेतनामूलक कार्यक्रम र सरसफाइजस्ता गतिविधि निरन्तर सञ्चालन गरिरहेको छ ।