शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रतिबद्ध छौँ : प्रचण्ड

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिटै पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा आज आइतवार विज्ञप्ति निकालेर अध्यक्ष प्रचण्डले युद्धलाई शान्तिमा रूपान्तरण गर्ने काम सम्पन्न भए पनि त्यो समयमा घटेका घटनाको सत्य/तथ्य छानबिन गरी सार्वजनिक गर्न र पीडितहरूलाई परिपूरण गर्न अझै बाँकी रहेको भन्दै यस्तो काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष प्रचण्डले युद्धका बेला भएका कमजोरीहरूको छानबिन गरी सत्य÷तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाए । आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति गर्व गर्दै त्यसबेला भएका कमीकमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आफू प्रतिबद्ध रहेको उनको भनाई छ ।

द्वन्द्वकालका घटनाहरूको छानबिन गर्नु सरकारको मात्रै मामिला नभएर राज्यका हरेक निकाय र राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उनले बताए ।