राप्रपाका प्रमुख सचेतक शाहीले मागे प्रधानमन्त्रीको राजीनामा


सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।

उनले प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्षरूपमा अघि बढ्न दिनुपर्ने माग गरेका हुन् ।

शाहीले अपराधजस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने समेत बताए ।

राप्रपाले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गरेको धारणा संसद् रेकर्डबाट हटाउन माग गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।