राजा चार्ल्समाथि अण्डा प्रहार, एक जना पक्राउ

योर्क शहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ। राजा रानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले ‘यो देश दासको रगतले बनेको हो’, नारा लगाएका थिए भने भीडले भगवानले राजालाई बचाऊन् नारा लगाएको थियो।

राजा चार्ल्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए। यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो।

उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चार्ल्सको विरोध गरेका थिए। बेलायतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ।