युद्धलाई लिएर रूसी रक्षामन्त्रीलाई बयान लिइँदै

युक्रेनमा रूसी सेनाको विजय नहुँदा रूसमा असन्तुष्टि चुलिएको छ। यस्तो अवस्थामा रूसी संसद्ले रक्षामन्त्री सर्गेई शोइगुलाई बयान दिन बोलाउने तयारी गरिरहेको छ। शोइगु राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ नेता मानिन्छन्।

धेरै सञ्चारमाध्यममा उनलाई पुटिनको उत्तराधिकारी पनि भनिएको छ। यो वर्ष कोरोना संक्रमित हुनुअघि पुटिन र शोइगु पनि साइबेरियामा सँगै शिकारमा निस्किएका थिए।

यस्तो अवस्थामा सर्गेई शोइगुलाई संसद्‌मा बयान दिन बोलाइनु पुटिनका लागि ठूलो झट्का मानिनेछ। यति मात्र होइन, यसलाई रूसमा पुटिन कमजोर भएको मानिनेछ।

रूसी कोमरसान्त पत्रिकासँग कुरा गर्दै वरिष्ठ रूसी सांसद सर्गेई मिरोनोभले रूसी संसद् दुमाले रक्षामन्त्री शोइगुलाई बन्दसत्रमा सोधपुछ गर्न बोलाउने विचार गरिरहेको बताए। दुमाले रूसी रक्षामन्त्रीलाई बोलाएको आह्वानबारे अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन। यद्यपि यो हप्ता सैन्य विशेषज्ञहरूले युक्रेनको ठूलो भागको नियन्त्रण गुमाएपछि रूसी सेना र अधिकारीको खुलेर आलोचना गरेका छन्।

तिनीहरूमध्ये धेरै पुटिन समर्थकहरू पनि छन्, जो युक्रेनमा रूसी सेनाको प्रदर्शनबाट खुसी छैनन्।

युक्रेनमा रूसी आक्रमणका समर्थक र पुटिनको नजिक रहेको जस्ट रसिया पार्टीका प्रमुख मिरोनोभले राज्य दुमा काउन्सिलले सोमबार यस विषयमा छलफल गर्ने बताए। मिरोनोभले उनको पार्टीले शोइगुसँग बन्द सत्रमा सोधपुछ गर्न र जनताको चासोका सबै प्रश्न सोध्न संसद्‌को अधिवेशन बोलाउने प्रस्ताव गरेको थियो।

गत हप्ता रूसले युक्रेनको पाँच महिनाको लडाइँमा कब्जा गरेको जति भूभाग गुमाएको थियो। यद्यपि रूसले आफ्ना सैनिक फिर्ता बोलाएर पुन: संगठित गर्न लागेको दाबी गरेको छ। वास्तवमा रूसी सेनाले अचानक किभको घेराबन्दी खाली गरेर पछि हटेका वेला पनि रूसले यस्तै बयान दिएको थियो। रूस र युक्रेनबीचको सैन्य शक्तिमा विशाल अन्तर छ।